Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार ओम हमाललाई ७ दिनको म्याद थप, हमालको पक्षमा देशभर पत्रकार एकजुट

अनखबर
काठमाडौ  १८ भदौ – मंगलबार सर्वोच्च अदालतको गेटबाट पुनः गिरफ्तार गरिएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप भएको छ ।
भदौ ६ गते पोखराबाट गिरफ्तार गरी राजद्रोहको अभियोग लगाइएका पत्रकार हमाललाई अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै मंगलबारै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर रिहालगत्तै प्रहरीले गिरफ्तार गरी काठमाडौंको टेकु प्रहरी हिरासतमा राखेको छ । त्यसपछि अनुसन्धानका लागि भनेर सीडीओमा म्याद थप गर्न लगिएको थियो । पत्रकार हमालको बिनासर्त ससम्मान रिहाईको माग चौतर्फी बढ्दै गएको छ ।

पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्रीलाई नेपालको संविधान उपहार पठाएको छ । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकविरुद्धको ज्यादती भएकोले विरोधमा उत्रिनु परेको हो ।’ प्रधानमन्त्रीलाई संविधान उपहार सांकेतिक विरोध भएको उनले बताए ।
सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारी लुकबहादु क्षेत्री मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई संविधान उपहार र ज्ञापन पत्र पठाएको शाखाले जनाएको छ । ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ।
गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ । ‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिरहेका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित होइन,’ महासंघ बागलुङका अध्यक्ष शिरिषले भने । पत्रकार हमाल जनसञ्चार अनलाईनका सम्पादक हुन् ।
यता कास्कीका पत्रकार ओम हमालको यथाशीघ्र रिहाईको माग गर्दै नवलपुर पत्रकार महासंघले जिल्ला प्रशासन नवलपुरमा ज्ञापन पत्र बुझाएको छ।
नवलपुर शाखा पत्रकार महासंघका अध्यक्ष होम राज रानाभाटको टोलिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ओम हमाल पत्रकारिताको क्षेत्रमा लामो समय देखि निरन्तर भ्रष्टाचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका छन ।
महासंघ कास्कीका साघारण सदस्य समेत रहेका हमाल जनसंचार डटकमका संचालक सम्पादक हुन । हमाललाई अदालतले रिहाइको आदेश दिए पनी मंगलबार विहान प्रहरीले पुन पक्राउ गरेको थियो । आज देशभरका पत्रकारहरुले हमालको रीहाईको लागी ज्ञापन पत्र प्रशासनमा बुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *